काठमाडौं, २७ फागुन । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले भीआईपी कल्चर अन्त्य हुनुपर्ने बताएका छन् । आइतबार प्रहरी प्रधान कार्यालयको निरीक्षणपछि देशभरका जिल्ला प्रहरी प्रमुख र प्रदेशका डीआईजीहरुलाई भिडियो कन्फेरेन्समार्फत सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।
यस्तै उनले प्रहरीमा सरुवा र बढुवा हुन ‘धाउनुपर्ने’ व्यवस्थाको अन्त्य गरिने मन्त्री उद्घोष गरेका छन् । वर्तमान आईजीपी वसन्त कुँवरलाई आफू पहिलोपटक गृहमन्त्री हुँदा भनसुन बिना नै मधेश प्रदेशको प्रमुख बनाएको लामिछानेले बताए ।
आफू पैसा खानका लागि मन्त्री नभएको उल्लेख गर्दै लामिछानेले भनेका छन् –‘आइजिपी साव’ले आफ्नो अधिकार कसैलाई नबुझाउनुस्, म बाट कुनै हस्तक्षेप हुँदैन ।’ सरकारको आयुसँग आफूलाई मतलब नभएको लामिछानेले बताएका छन् । ‘जत्ति दिन टिक्छु केही गर्ने इच्छा छ’ निर्देशन सम्बोधनमा उनले भने– ‘मेरो अघिल्लो कार्यकालको योजनाअनुसार काम गर्छु ।’
आईजीपी वसन्त कुँवरलाई सरुवा बढुवा समयमा गर्न निर्देशन दिँदै मन्त्री लामिछानेले ३० वर्षे सेवा अवधि हट्नुपर्ने बताए । उनले भने, ‘३० वर्षेका लागि कसै न कसैले सेक्रिफाइस गर्नैपर्छ ।’