काठमाडौं, १ चैत । आज (चैत १)देखि ४५ दिनका लागि कान्ति लोकपथमा सवारीसाधन बन्द गरिएको छ । काठमाडौंबाट हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत पर्ने ललितपुरको भट्टेडाँडास्थित सडक मर्मतसम्भार गर्ने उद्देश्यले बिहीबार बिहानदेखि यातायात सेवामा रोक लगाइएको हो ।
उक्त सडक निर्माणका क्रममा चैत १ गतेदेखि आगामी २०८१ वैशाख १५ गतेसम्म यातायात सञ्चालनमा रोक लगाइएको सडक विभागले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ ।
गत फागुन १६ गते ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले काल्चे खण्डमा पर्ने चेनेज कटिङसहितको निर्माण गर्न चैत १ गते देखि बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सवारी आवत जावतमा रोक लगाउने निर्णय गरेको थियो ।
विसं २०१३ मा शिलान्यास गरिएको काठमाडौँलाई हेटौँडासँग जोड्ने सडक मार्गको करिब पाँच किलोमिटर भाग अझै कालोपत्रे हुन बाँकी छ ।