काठमाडौं, २ चैत । चालू आर्थिक वर्ष २०८०÷८१को आठ महिनामा २९ अर्ब भन्दा धेरैको वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को आठ महिनाामा २ सय ५३ उद्योगका लागि २९ अर्ब १३ करोड ४५ लाख १७ हजार रुपेयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको छ । प्रतिबद्धता पाएका २५३ उद्योग स्थापना भए पश्चात् १३ हजार १ सय ६९ जनाले रोजगारी पाउनेछन् ।
विभागका अनुसार फागुन महिनामा मात्रै १२ उद्योग स्थापनाका लािग २० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यी उद्योगबाट ४ सय ७७ जनाले रोजगारी पाउनेछन् । यस्तै सरुवात देखि चालू आवको फागुन मसान्तसम्ममा ६ हजार १ सय १२ उद्योगले ४ खर्ब ७९ अर्ब १० करोड ३४ लाख रुपैयाँ भन्दा धेरैको लगानी प्रतिवद्धता आएको छ । यी उद्योग स्थापना भएपश्चात् ३ लाख २२ हजार २ सय ६६ जनाले रोजगारी पाउने अनुमान छ ।
चालू आवको आठ महिनासम्ममा प्रतिबद्धता पाउनेमा २ सय १२ ठुला उद्योग छन् । यस्तै १२ वटा मझौला माध्यम प्रकारका उद्योग र ३ वटा ठुला उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ ।
विभागका अनुसार फागुनसम्ममा १ हजार ५ सय ९२ लगानीकर्ताले व्यावसायिक भिसा पाएका छन् । सोही अवधिमा प्रतिनीधिमार्फत २ सय १३ र आश्रित (डिपेन्डेन्ट) मार्फत ६ सय ३७ जनाले व्यावसायिक भिसा पाएका छन् । यस्तै नेपालबाट फागुन मसान्तसम्ममा १ अर्ब ५३ करोड ५७ लाख ७९ हजार ४ सय ८२ रुपैयाँ रोयल्टी बाहिर गएको विभागको तथ्याङ्कमा उल्लेख छ ।