काठमाडौं, २ चैत । भारत सरकारले बिहीबार अश्लील सामग्री प्रसारण गरेको भन्दै १८ ओटीटी प्लेटफर्ममाथि प्रतिबन्ध लगाएको छ । यससँगै १९ वेबसाइट, १० एप र ५७ सामाजिक सञ्जालका ह्याण्डललाई पनि रोक लगाइएको छ ।
केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालयको १२ मार्चमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बिहीबार यी एपको सूची सार्वजनिक गर्दै सरकारले यी एप्स, ओटीटी प्लेटफर्म र सोसल मिडिया प्लेटफर्मले मनोरञ्जनको नाममा अश्लील र आपत्तिजनक भिडियो प्रस्तुत गर्दै आएको जनाएको छ । यी ओटीटी एपलाई धेरै पटक चेतावनी दिइएपनि सामग्रीमा सुधार नगरिएको सरकारको भनाइ छ ।
महिलालाई अपमानजनक रुपमा प्रस्तुत गरिएको, विद्यार्थी तथा शिक्षकबीचको सम्बन्ध र पारिवारिक सम्बन्धलाई पनि गलतरुपमा चित्रण गरिएको सरकारको भनाइ छ ।
सरकारले १८ ओटीटी एपमध्ये एउटालाई एक करोडभन्दा बढी डाउनलोड गरिएको जनाएको छ । यद्यपि नाम भने खुलाइएको छैन । गुगल प्ले स्टोरमा अन्य दुई अन्य एपलाई ५० लाखभन्दा बढी डाउनलोड गरिएको छ । यसअघि मन्त्रालयले ओटीटी प्लेटफर्ममा देखाइने सामग्रीबारे धेरै गुनासो आएको बताएको थियो ।