काठमाडौं, २ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विद्यार्थीहरु विदेशिने क्रम बढ्दा विश्वविद्यालयहरू खाली हुने र विद्यार्थी नपाउने अवस्था सिर्जना हुन थालेको बताएका छन् ।
शुक्रबार सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को सिनेमा संवाद कार्यक्रममा ओलीले नेपाली युवाहरू अध्ययनको सिलसिलामा र कामका लागि विदेश जाने प्रवृत्ति बढेकाले विश्वविद्यालयहरू विद्यार्थी नपाउने अवस्थामा पुगेको बताएका हुन् ।
यस्तै उनले बाहिर अध्ययनका लागि जाने विद्यार्थीहरूमा पनि ठूलो संख्यामा पढेर फर्किने भन्दा उतै जीवन बिताउने मानसिकतामा विदेश पलायन भइरहेको बताए । युवा पुस्तालाई कुनै पनि देश पैसा भएर धनी हुने नभई विकास निर्माणपछि मात्रै धनी हुन्छ भन्ने कुरा बुझाउन जरुरी रहेको उनको भनाई छ । युवामा देशभित्रै बसेर केही गर्नुपर्छ भन्ने भावना र विश्वास दिलाउन सक्नुपर्ने ओलीले बताए ।