काठमाडौं, ४ चैत । आगामी चैत अन्तिम साता ललितपुर इन्टरनेशनल ट्रेड एक्स्पो २०२४ आयोजना हुने भएको छ । ललितपुरस्थित जावलाखेल फुटबल ग्राउण्डमा चैत २२ देखि २६ गतेसम्म आयोजना हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा मेड इन नेपाल प्याभिलियनमा विशेष आकर्षण रहने आयोजक पक्षले जनाएको छ ।
ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा सञ्चालन हुने इन्टरनेशनल ट्रेड एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका बंगलादेश, थाइलैण्ड, टर्की, मलेसिया, चाइनालगायतका देशहरुमा उत्पादित विविध वस्तु तथा सामग्री, मौलिक उत्पादन र सेवा सम्बन्धी इन्टरनेशनल ट्रेड एक्स्पोमा राखिने बताइएको छ ।
उक्त आयोजना ललितपुर महानगरपालिका सहआयोजक, नेपाल चेम्बर अफ कमर्श र जावलाखेल युथ क्लबको सहयोगमा सञ्चालन हुने छ । एक्स्पोमा फर्निचर, छालाबाट बनाइएका वस्तु, हस्तकलाका सामग्री, लत्ताकपडा, सारी, कुर्था, बेडसिट, जुत्ता–चप्पल, नक्कली गरगहनालगायतका सामग्री प्रदर्शनीमा उपलब्ध हुने आयोजक पक्षले जनाएको छ ।
पहिलो पटक ललितपुरमा आयोजना गर्न लागेको एक्स्पोमा सहभागी राष्ट्रका प्रतिष्ठित व्यापारीहरुको सहभागीता रहने छन् । मेलाको सहयोगी संस्थाका रुपमा लक्ष्मी सनराइज बैंक र नेपाल हस्तकला महासंघ रहेका छन् ।
एक्स्पोले आर्थिक गतिविधिलाई बढाउनुका साथै अतिरिक्त दुबै मुलुकलाई समृद्धिको दिशामा अघि बढ्न पनि यस्ता मेलाहरु फलदायी हुने अपेक्षा रहेको ललितपुर चेम्बर अफ कमर्शका अध्यक्ष पुष्परत्न शाक्यले बताए ।
सार्क मुलुकमा निर्मित सामग्रीहरुले नेपाली बजार लिएको र नेपालका हस्तकलाका सामग्रीहरूले अन्य मुलुकमा प्रभाव जमाएको भन्दै अध्यक्ष शाक्यले मेलामार्फत सहभागी देशहरुको उत्पादनको प्रबद्र्घनमा सघाउ पुग्ने अपेक्षो गरे । यस्तो मेलाले सहभागी मुलुकका व्यवसायीलाई सामिप्यमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको इन्ट्रोडक्सन ट्रेड शोका मेनेजीङ डाइरेक्टर सुमन महर्जनले बताए ।
मेलामा व्यापार प्रवद्र्घनका लागि केही स्टल बाँकी रहेको भन्दै आयोजक पक्षले नेपाल, भारत, पाकिस्तान र बंगलादेशको कुम्भ मेलामा आफ्नो ब्राण्ड प्रवद्र्घन गर्न र व्यापार गर्न चाहने फर्म तथा कम्पनीलाई पनि आब्हान गरेको छ