काठमाडौं, ४ चैत । प्रतिनिधि सभाले सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको प्रतिनिधि सभा बैठकले जनता समाजवादी पार्टीकी सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।
६० वर्षीय शर्माको आइतबार बिहान उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको थियो । उनी जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन् ।
जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा शर्मा सांसद भएकी थिइन् ।
शोक प्रस्ताव पारित गरेर स्थगित भएको प्रतिनिधि सभाको अर्को बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ ।