काठमाडौं, ४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि चीनसँग समझदारी बनेको बताएका छन् । आइतबार पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आयोजित कार्यक्रममा प्रचण्डले नियमित अन्तर्राष्ट्रिय उडानको वातावरण बनाउन चीन भ्रमणका क्रममा समझदारी बनेको बताएका हुन् ।
यस्तै उनले विमानस्थल निर्माणमा लागेको ऋण अनुदानमा बदल्न आफू प्रयासरत रहेको बताए ।पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेर नियमित अन्तर्राष्ट्रिय उडानको वातावरण बनाउनमा आफ्नो ध्यान केन्द्रित रहेको उनको भनाई थियो । उनले भने, ‘आज मैले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दैछु, यो सन्दर्भमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको महत्व र भूमिका अझ धेरै स्थापित हुन्छ भन्ने पनि विश्वास छ । त्यसकारण मेरो ध्यान छ, नियमित उडान भर्ने वातावरणका लागि पनि ऋणको व्यवस्थानको बारेमा पनि । मेरो ध्यानमात्रै होइन, मैले सम्भावना देखेको छु ।’
पोखरामा अन्तर्राष्ट्रि विमानस्थल निर्माणका लागि सरकारले चीन सरकारबाट २२ अर्ब रुपैयाँ ऋण लिएको थियो । पोखरा पर्यटन परिषद्ले नियमित उडानको वातावरण बनाउन माग गर्दै प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र समेत बुझाएका छन् ।