काठमाडौं, ४ चैत । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले फेवाताल किनारस्थित बाराहीघाटमा आयोजित कार्यक्रमबाट पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका हुन् । पोखरा प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै प्रधानमन्त्रीले नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पोखरा पर्यटन राजधानी घोषणाले समग्र गण्डकी प्रदेश र मुलुककै श्रीवृद्धिमा नयाँ आयाम थपिने विश्वास लिएको धारणा राखे । विश्वका विभिन्न मुलुकमा शहरका आ–आफ्नै विशेषता र पहिचानको आधारमा राजधानी घोषणा गर्ने तथ्यलाई समेत विचार गरी पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको उनको दावि थियो ।
उनले भने, ‘पोखरालाई पर्यटन राजधानी घोषणाका लागि विज्ञसहित अध्ययन समिति गठन गरिएको थियो । समितिले अध्ययन गरी विभिन्न सूचकहरुको आधारमा पर्यटन राजधानी घोषणा गर्न सिफारिस गरेको थियो । सम्पूर्ण निकायहरुको संस्थागत निर्णय र सिफारिसको आधारमा घोषणा गरिएको हो ।’
आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने पोखरालाई हालसम्म अघोषित रुपमा पर्यटकीय राजधानीको रुपमा लिँदै आइएको थियो ।
२०७८ कात्तिक २९ गते तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले पर्यटकीय राजधानी घोषणाका लागि संघीय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।