काठमाडौं, ४ चैत । चालू आर्थिक वर्षको आठ महिनामा सरकारको सार्वजनिक ऋण २३ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को फागुनसम्ममा सरकारको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड पुगेको छ ।
सोही अवधिमा सरकारले बाह्य ऋण १२ खर्ब २ अर्ब ७३ करोड तिर्न बाँकी छ । त्यस्तै आन्तरिक ऋण ११ खर्ब ८५ अर्ब ५२ करोड तिर्न बाँकी छ ।
कार्यालयका अनुसार फागुनसम्ममा सरकारले आन्तरिक र बाह्य ऋण गरी कुल १ खर्ब ७५ अर्ब ५१ करोड रुपैयाँ भुक्तानी गरिसकेको छ । सोही अवधिमा सरकारले आन्तरिक ऋण र बाह्य ऋण क्रमशः १ खर्ब ४६ अर्ब ६४ करोड र २८ अर्ब ८६ करोड रुपैयाँको भुक्तानी गरेको छ । यस्तै फागुनसम्ममा सरकारले आन्तरिक र बाह्य गरी साँवा ब्याज क्रमशः १ खर्ब २६ अर्ब ३ करोड र ४९ अर्ब ४७ करोड भुक्तानी गरिसकेको छ ।
सरकारले चालू आवको फागुनसम्ममा आन्तरिक र बाह्य गरी कुल २ खर्ब १८ अर्ब ८६ करोड रुपैयाँ ऋण लिएको छ, जसमध्ये आन्तरिक ऋण १ खर्ब ६३ अर्ब ३१ करोड र बाह्य ऋण ५५ अर्ब ५५ करोड रुपैयाँ छ ।