काठमाडौं, ४ चैत । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध २० अर्ब पाकिस्तानी रुपैयाँ बिगो दाबीसहित दायर भएको मानहानिको मुद्दा खारेज भएको छ । पूर्वप्रधान न्यायाधीश इफ्तिखार मोहम्मद चौधरीले खानविरुद्ध २० अर्ब पाकिस्तानी रुपैयाँ बिगो दाबीसहित दायर गरेको मानहानिको मुद्दालाई इस्लामाबादको एक जिल्ला अदालतले शनिबार खारेज गरेको हो ।
जुलाई २०१४ मा चौधरीले इमरान खानलाई सन् २०१३ को आम चुनावमा धाँधली गरेको र उनीद्वारा सार्वजनिक एक वक्तव्यमा आफूविरुद्ध अपमानजनक टिप्पणी गरेको आरोप लगाउँदै २० अर्ब पाकिस्तानी रुपैयाँ बिगो दाबीसहित मानहानिको सूचना जारी गरेका थिए ।
द एक्सप्रेस ट्रिब्युनको रिपोर्टअनुसार लामो प्रक्रियापछि अदालतले इमरान खानको पक्षमा फैसला सुनाएको छ र चौधरीद्वारा दायर गरिएको मुद्दा खारेज गर्दै मानहानिको सूचना हद नागेपछि जारी गरिएको बताइएको छ ।
अदालतका अनुसार अन्तिम कथित मानहानिपूर्ण बयान सन् २०१४ जुन २७ मा गरिएको थियो र मुद्दा सन् २०१५ को जनवरी २० मा दायर गरिएको थियो। मुद्दा दायर गर्दा ६ महिना २४ दिन हद नाघिसकेकोले मुद्दालाई खारेज गरिएको छ । अदालतले मानहानिसम्बन्धी सामग्री प्रकाशित भएको मितिले ६ महिनाभित्र मानहानि मुद्दा दायर गर्नुपर्ने र त्यसो गर्न नसके मानहानि अध्यादेश २००२ को दफा १२ अनुसार मुद्दा गर्न नमिल्ने उल्लेख गरेको छ ।