काठमाडौं, ५ चैत । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरेको छ । संसदको सोमबार बसेको बैठकमा कांग्रेस महामन्त्री गगन कुमार थापाले निष्पक्ष अनुसन्धान हुनेमा शंका लागेको बताए ।
उनले भने, ‘जीबी राई लगायतको जुन रुप छ, जसमा दीपेश पुन अहिले पक्राउ परेर बुटवल लिएर गइएको छ । यो समूहले अर्बौं रुपैयाँ अपचलन गरेको छ र त्यसमध्येको सबैभन्दा धेरै ठूलो पैसा गोर्खा मिडिया, ग्यालेक्सी टेलिभिजनमा गएको छ । मैले थाहा पाएसम्म अरु थुप्रै शक्तिशाली नेताहरुको पनि नाम आउँछ यदि राम्रोसँग अनुसन्धान गरियो भने, तर अनुसन्धान नियमित ढंगले अहिलेको प्रहरी प्रशासनले गर्न सक्छ भन्ने विश्वास हामीले कसरी पत्याउने ?’
लामिछानेले आफूले पैसा लिएको छैन र आफू सहकारीको सदस्य होइन भनेको भरले उन्मुक्ति पाए अर्बौं रुपैयाँ ठग्ने अरु सय जनाले पनि उन्मुक्ति पाउने थापाले बताए । लामिछाने र सूर्यदर्शन सहकारीलाई अनुसन्धान नगर्ने हो भने अन्य धेरै सहकारीलाई पनि छोड्नुपर्ने हुने भएकाले सबैलाई छानविन गर्नुपर्ने उनले बताए । गृहमन्त्रीलाई प्रहरीले अनुसन्धान गर्ने कुरामा आशंका व्यक्त गरे ।