काठमाडौं, ५ चैत । नेकपा (एमाले) इलाम जिल्ला कमिटीले दुई नम्बर निर्वाचन क्षेत्रको उपनिर्वाचनका लागि ६ जना आकांक्षीको नाम केन्द्रमा पठाएको छ ।
सुहाङ नेम्वाङ, रवीन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्रनाथ भट्टराई, देवी दुलाल र रिपल राईको नाम केन्द्रमा पठाएको एमाले इलाम जिल्ला कमिटी अध्यक्ष महेश बस्नेतले जानकारी दिए ।
नाम सिफारिस भएका सुहाङ सुवास नेम्वाङका छोरा हुन् । यस्तै सुवेदी जिल्ला कमिटीका उपसचिव, खनाल माइ नगरपालिका–७ का वडाध्यक्ष,राई कोशी प्रदेश कमिटी सदस्य, दुलाल जिल्ला कमिटीको सचिवालय सदस्य, हुन् । साथै भट्टराई एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा बन्दा केन्द्रीय सदस्य बनेका थिए ।
एमालेले यसअघि उम्मेदवार सिफारिस गर्न जिल्ला उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलले उम्मेदवारका ६ जना आकांक्षीहरूको नाम दर्ता गरेको थियो ।
वैशाख १५ गते इलामको निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुँदैछ । गत भदौ २६ गते त्यहाँबाट निर्वाचित सांसद सुवास नेम्वाङको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।