काठमाडौं, ५ चैत । नेपाल चेम्बर अफ कमर्सल अर्थमन्त्री वर्षमान पुन समक्ष १७ बुँदे सुझाव पेस गरेको छ । सोमबार चेम्बर अध्यक्ष राजेन्द्र मल्ल सहितको पदाधिकारी टोलीले नवनियुक्त अर्थमन्त्री पुनलाई चेम्बरका तर्फबाट १७ बुँदे सुझाव पेस गरेका हुन् ।
अर्थतन्त्रलाई चलायमान बनाउन पुँजीगत खर्चमा वृद्धि, भन्सार प्रशासन सुधार, निर्यात प्रवर्द्धन, उत्पादन तथा रोजगारी सिर्जना गर्ने गरी नीतिगत व्यवस्था गर्ने लगायतका विषयमा सुझाव पेस गरिएको चेम्बरले जनाएको छ ।
यस्तै नेपालमा आयात हुने बस्तुहरूको भन्सार प्रयोजनका लागि सन्दर्भ मूल्यलाई खारेज गरी कारोबार मूल्यलाई मान्यता दिन पनि चेम्बरले आग्रह गरेको छ । यस्तै नेपाली बस्तुको निर्यात प्रवर्द्धन गर्नका लागि भन्सार नाकाहरूमा उच्चस्तरीय क्वारेनटिन ल्याब स्थापना गर्न पनि आग्रह गरिएको छ ।
चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बजारमा लगानीयोग्य रकम अधिक तरलता भएर पनि लगानी आकर्षण हुन सकेको छैन, पुँजी चलायमान एवं आर्थिक गतिविधि विस्तार गर्ने खालको आगामी बजेट ल्याउन आवश्यक छ, उत्पादन वृद्धि मार्फत निर्यात प्रवर्द्धन एवं रोजगारी सिर्जना गर्ने बजेट अबको प्राथमिकतामा हुनुपर्छ ।’
नेपालमा सूचना प्रविधिसँग सम्बन्धित बहुराष्ट्रिय कम्पनीहरूलाई आकर्षण गर्न सकिए आइटीका युवाहरूले रोजगारी प्राप्त गर्न सक्ने र यसले अर्थतन्त्रमा पनि टेवा पुग्ने विज्ञप्तीमो उल्लेख गरेको छ ।
मूल्य अभिवृद्धि करमा वहुदर प्रणाली लागु गरी आम उपभोग्य वस्तु र विलासिताका बस्तुहरूमा फरक दर कायम गर्न, घरजग्गा कारोबारमा जाने कर्जा प्रवाहमा धितो मुल्याङकनको ५० प्रतिशत प्रदान गर्ने व्यवस्थालाई संशोधन गरी ७० प्रतिशत पु¥याउन चेम्बरले सुझाव दिएको छ ।
चेम्बर पदाधिकारीसँगको भेटका क्रममा अर्थमन्त्री पुनले निजी क्षेत्रको मनोबल खस्किन नदिने गरी काम गर्ने सरकारको नीति रहेको बताए । उनले भने, ‘अर्थतन्त्र शिथिलताबाट गुज्रिरहेको छ, यस्तो अवस्थामा निजी क्षेत्रलाई सँगै लिएर जान प्रधानमन्त्रीको पनि निर्देशन छ, सोही अनुसार वातावरण बनाउने मेरो प्रयत्न रहनेछ,।’