काठमाडौं, ६ चैत । गृह मन्त्रालयले इजाजत दिइएका हतियारको विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ । सोमबार सर्वोच्च अदालतबाट इजाजत लिइएको हतियारसहित दुई व्यक्ति पक्राउ परेपछि गृह मन्त्रालयले हालसम्म इजाजत दिइएका हतियारको विवरण २४ घन्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।
सोमबार गृहमन्त्रालयले जारी गरेको पत्रमा भनिएको छ, ‘हालसम्म हातहतियार तथा खरखजनाको इजाजतपत्र जारी गरिएका व्यक्ति, प्रयोजन, प्रकार तथा सङ्ख्यासहित नवीकरण भए÷नभएको विवरण, त्यस्ता हातहतियार इजाजत विपरीत प्रयोग भए÷नभएको विवरण र विना इजाजत प्रयोग गरिएको, नवीकरण नगरिएको र उद्देश्य विपरीत प्रयोग गरिएका कारण त्यस्ता हतियार बरामद गरिएको सो समेत खुलाई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र उपलब्ध गराइदिनुहुन आदेशअनुसार अनुरोध छ ।’