सुनिता सुबेदी
काठमाडौं, ७ चैत । नेपालको प्रमुख भन्सार नाका विरगञ्ज भन्सार कार्यालय हो । चालू अर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा मात्रै विरगञ्ज भन्सार नाकाबाट ३ खर्ब ५३ अर्ब ४ करोड २२ लाख मूल्य बराबरको वस्तु आयात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा यस नाकाबाट ९ दशमलव ६९ प्रतिशतले आयात घटेको हो । गत आवको फागुनसम्ममा विरगञ्ज भन्सार नाका हुँदै ३ खर्ब ९१ अर्ब ३ करोड ८३ लाख मूल्य बराबरको वस्तु आयात भएको थियो ।
विरगञ्ज भन्सार नाकालाई नेपालको द्विपक्षीय व्यापारमा प्रमुख ठुलो भन्सार नाका मानिए पनि निर्यातमा भने यस नाकाको व्यापार खुम्चिदै गएको छ । चालू आवको अधिकांश महिनामा यस नाका निर्यातमा तेस्रोमा छ । सोही अवधिमा विरगञ्ज नाकाबाट १९ अर्ब ५८ करोड २ लाख रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात भएको छ । कुल व्यापारमा यस नाकाले निर्यातको १९ दशमलव ४६ प्रतिशत हिस्सा ओगटेको छ ।
विभागका अनुसार गत आर्थिक वर्षभरि नै निर्यातित नाकामध्ये विराटनगर भन्सार नाका सबैभन्दा अगाडि थियो । तर चालू आर्थिक वर्षको आठ महिनामा विराटनगर भन्सार नाकाको निर्यात खुम्चिदै गएको छ । चालू आवको सुरुवाती महिनादेखि नै निर्यातमा विराटनगर भन्सार नाकालाई पछि पार्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पहिलो बन्दै आएको छ ।
गत आवको अन्त्य असार मसान्तसम्ममा निर्यातित नाकामध्ये पहिलो नाका विराटनगर भन्सार नाकाबाट मात्रै ३६ अर्ब ६७ करोड ४८ लाख मूल्य बराबरको वस्तु निर्यात भएको थियो । तर चालू आर्थिक वर्ष २०८०÷८१ को पहिलो साउन महिनामा विराटनगरलाई पछि पार्दे त्रिभुवन भन्सार कार्यालय अगाडि बढेको छ । सोही अवधिमा त्रिभिुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३ अर्ब ३२ करोड ६७ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो । चालू आवको पहिलो महिनामा यस नाकाले कुल व्यापारमा निर्यातको हिस्सा २४.५९ प्रतिशत ओगटेको छ । साउनमा विरगञ्ज भन्सार नाका चौथोमा छ । यस नाकाले निर्यातको हिस्सा १७.९२ प्रतिशत ओगट्दै २ अर्ब ४२ करोड ४५ लाख मूल्य बराबरको वस्तु निर्यात भएको छ । तेस्रोमा रहेको विराटनगरबाट २ अर्ब ६९ करोड रुपैयाँको वस्तु आयात भएको छ ।
साउन महिनामा चौँथोमा रहेको विरगञ्ज भन्सार नाका भदौमा दोस्रोमा आइपुगेको छ । सो अवधिमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ६ अर्ब ८८ करोड मूल्य बराबरको वस्तु निर्यात हुँदा विरगञ्जबाट ५ अर्ब १७ करोडको मात्र निर्यात भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विरगञ्जले निर्यातको हिस्सा क्रमशः २६ र १९.६ प्रतिशत ओगटेको छ । यस्तै विराटनगरबाट ५ अर्ब १४ करोड मूल्य बराबरको वस्तु निर्यात भएको छ ।
विभागका अनुसार असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० अर्ब ५६ करोड २३ लाख मूल्य बराबरको वस्तु निर्यात हुँदा विरगञ्जबाट ८ अर्ब ३२ करोडको मात्र निर्यात भएको छ । यस नाकाले क्रमशः २५.८४ र २०.३७ प्रतिशत निर्यातको हिस्सा ओगटेको छ । सोही अवधिमा तेस्रोमा रहेको विराटनगर भन्सार नाकाबाट ७ अर्ब ९० करोड मूल्य बराबरको वस्तु निर्यात भएको छ ।
चालू आवको कार्तिकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १२ अर्ब ९४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । सोही अवधिमा विरगञ्ज भन्सार नाका हुँदै १० अर्ब २६ करोड को वस्तु निर्यात भएको छ भने तेस्रोमा रहेको विराटनगरबाट १० अर्ब १२ करोड मूल्य बराबरको वस्तु निर्यात भएको छ ।
यस्तै मंसिरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, विरगञ्ज भन्सार र विराटनगर नाकाबाट क्रमशः १५ अर्ब ७० करोड र १२ अर्ब ८८ करोड र १२ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यी नाकाले निर्यातको हिस्सा क्रमशः २४.८४ र २०.३८ र १९.६३ प्रतिशत ओगटेको छ ।
पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १७ अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । मंसिर सम्ममा तेस्रोमा रहेको विरटनगर भन्सार नाका विरगञ्जलाई पछि पार्दै दोस्रोमा आइपुगेको छ । पुससम्ममा विराटनगर भन्सार नाका हुँदै १५ अर्ब ३८ करोड को वस्तु निर्यात भएको छ भने तेस्रोमा रहेको विरगञ्ज भन्सार नाकाबाट १४ अर्ब ५६ करोड मूल्य बराबरको वस्तु निर्यात भएको छ ।
यस्तै माघमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २० अर्ब १३ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । सोही अवधिमा विराटनगर भन्सार नाका हुँदै १७ अर्ब ८६ करोड को वस्तु निर्यात भएको छ भने तेस्रोमा रहेको विरगञ्ज भन्सार नाका हुँदै १६ अर्ब ७६ करोड मूल्य बराबरको वस्तु निर्यात भएको छ ।
विभागका अनुसार फागुनसम्म आइपुग्दा निर्यातमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अग्रसर बन्दै आएको छ भने प्रमुख भन्सार नाका विरगञ्ज तेस्रो स्थानमा छ । यस्तै गत आवको वर्षभरीनै निर्यातमा अग्रसर रहेको विराटनगर भन्सार नाका दोस्रोमा छ । चालू आवको फागुनसम्ममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ अर्ब ८८ करोड ५९ लाख मूल्य बराबरको वस्तु निर्यात भएको छ । यस विमान स्थलले कुल व्यापारमा निर्यातको हिस्सा २२ दशमलब ७५ प्रतिशत ओगटेको छ । यस्तै दोस्रोमा रहेको विराटनगर भन्सार नाकाबाट २० अर्ब ५७ करोड र तेस्रोमा रहेको विरगञ्ज भन्सार नाकाबाट १९ अर्ब ५८ करोड मुल्य बराबरको वस्तु निर्यात भएको छ ।