काठमाडौं, ८ चेत । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिगत बनाएको काण्डमा मुछिएका नेपाली कांग्रेसका सांसद विनोद कुमार चौधरीले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका छन् ।
चौधरीले बिहीबार बिहान सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)मा बयान दिएपछि पत्रकारहरुमाझ कुराकानी गर्दै आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका हुन् । उनले भने, ‘उद्यमलाई राजनीतिकरण गर्ने, उद्यमीलाई राजनीतिकरण गर्ने, लगानीकर्ता र ट्याक्स पेयरलाई राजनीतिकरण गर्ने कुरा प्रष्टसँग देखियो ।’
यस्ता प्रकारका गतिविधिबाट निजी क्षेत्र, उद्यमी र लगानीकर्तालाई विशुद्ध राखिनुपर्ने चौधरीको भनाइ छ । आफू सीआईबीमा बयानका लागि उभिँदा विश्वभर गलत सन्देश गएको समेत उनको भनाई छ ।
यस्तै उनले आफू नवलपरासी पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद भएको र आफ्नो भूमिका त्यही रुपमा अगाडि बढाएको चौधरीले बताए । सरकारको नाममा रहेको बाँसबारी छालाजुत्ताको १० रोपनी जग्गा विनोद चौधरीसमेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर लिमिटेडको नाममा गैरकानुनी रुपमा ल्याएको खुलेपछि विनोद चौधरी पनि अनुसन्धानमा तानिएका हुन् ।
सीआईबीले सांसद चौधरीमाथि अनुसन्धान भइरहेको औपचारिक जानकारी सभामुख देवराज घिमिरेलाई पत्र लेखेरै गराएको थियो । लगत्तै बिहीबार बिहान उनी सीआईबीको सम्पर्कमा आएका थिए । उनी आफैं सरकारी वकिलको कार्यालय, काठमाडौंमा पुगेपछि सीआईबीले सरकारी वकिलको रोहबरमा बयान लिएको हो ।