काठमाडौं, ८ चैत । अर्थमन्त्री वर्षमान पुनले विदेश पलायन हुने युवा जनशक्ति रोक्न आईटी क्षेत्रलाई सरकारले बजेटको सिद्धान्त र प्राथमिकतामा समावेश गरेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा अर्थमन्त्री पुनले युवाहरूलाई मुलुकभित्र स्वरोजगार बनाउने र युवा विदेश पलायनबाट रोक्ने गरी कार्यक्रम ल्याउने र आईटी क्षेत्रलाई राज्यले प्रमुख प्राथमिकता दिने प्रतिबद्धता जनाएका जनाएका छन् ।
अर्थमन्त्री पुनले आगामी पाँच वर्षमा नेपालले ५ खर्ब बराबरको सफ्टवेयर नेपालबाट निर्यात गर्न सक्ने अवस्था रहेको भन्दै त्यहीअनुसार सरकारले युवालाई आईटीमा लगानी गर्ने योजना रहेको बताए । यस्तै उनले हरेक वर्ष १० हजारभन्दा बढी नेपाली युवाले आईटीमा काम गरिरहेको समेत दाबी गरे ।
अर्थमन्त्री पुनले सरकारले आईटी क्षेत्रबाहेक अन्य कृषि, ऊर्जा, शिक्षा र स्वास्थ्यमा पनि न्यूनतम दायित्वका रूपमा राज्यले प्राथमिकता दिए समय अनुकूल सुधार गर्ने काम गर्ने बताए । यस्तै उनले स्वास्थ्य शिक्षा सुधारका लागि विश्व विद्यालयको उपकुलपति राजनीतिक भागवण्डाभन्दा पनि प्रतिस्पर्धाबाट नियुक्तिको सुरुवात गरिएको बताए । उनले बजेट निर्माणलाई सबैको सहयोगमा सुधारको प्रयास भएको बताए ।