काठमाडौं, ९ चैत । ब्राजिलका पूर्व फुटबलर रोबिन्होलाई बलात्कार अभियोगमा ब्राजिलको अदालतले ९ वर्षको जेल सजाय सुनाएको छ । सन् २०१३ मा २२ वर्षीया अल्बानियाई महिलालाई इटलीमा सामूहिक बलात्कार गरेको अभियोगमा उनलाई अदालतले दोषी ठहर गरेको थियो ।
यसअघि सन् २०१७ मा इटलीको अदालतले पनि उनलाई दोषी ठहर गर्दै ९ वर्षकै जेल सजाय सुनाएको थियो । त्यतिबेला उनी एसी मिलानका लागि खेल्दथे । इटलीको अदालतले सजाय सुनाउनु अघि नै उनी ब्राजिल फर्किसकेका थिए । त्यसपछि इटलीले ब्राजिललाई रोबिन्होविरुद्ध एक्सन लिन भनेको थियो ।
स्काई न्यूजको रिपोर्ट अनुसार इटलीको अनुरोधपछि ब्राजिलको एक अदालतले उनीमाथि ९ वर्षको जेल सजाय सुनाएको हो । उनले ब्राजिलमै जेल सजाय काट्नुपर्ने फैसला अदालतले गरेको स्काई न्यूजमा उल्लेख छ ।
रोबिन्होलाई जेल सजाय हुने कि नहुने भन्ने विषयमा ब्राजिलको सुपेरियर कोर्ट अफ जस्टिसका न्यायाधीशबीच मत विभाजन गरिएको थियो । कूल १० भोटमध्ये जेल सजायँ हुनुपर्छ भन्ने पक्षमा ८ भोट र विपक्षमा २ भोट परेको थियो । रोबिन्होका वकिल जोस एडुआर्डो एल्कमिनले उक्त फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्ने बताएका छन् ।
रोबिन्होले ब्राजिलबाट १०० पटक अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनी चार वर्षसम्म रियल मड्रिडमा रहँदा रियलले दुई पटक ला लिगा च्याम्पियनसिपको उपाधि जितेको थियो । त्यसपछि सन् २००८ मा ३२.५ मिलियन युरोमा उनी म्यानचेस्टर सिटीमा गएका थिए ।