काठमाडौं, ९ चैत । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले चैत ११ गते आइतबार महाधिवेशन दस्ताबेज लेखन समिति र सचिवालयको संयुक्त बैठक बस्ने भएको छ । बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, सांगठनिक र विधान प्रतिवेदनलाई सचिवालयले अनुमोदन गरेपश्चात् दस्ताबेजमा समावेश गरिने पार्टीले जनाएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा २७ सदस्यीय दस्ताबेज लेखन समिति गठन भएको छ । यस्तै बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि मूल व्यवस्थापन कमिटी तथा अन्य कमिटीबाट भएका कामको समीक्षा समेत हुनेछ ।
आगामी जेठदेखि ७ गतेसम्म काठमाडौंमा आयोजना हुने राष्ट्रिय महाधिवेशनका लागि पार्टीले अध्यक्ष नेपालको संयोजकत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटी तथा अन्य १२ कमिटी गठन गरिसकेको छ ।