काठमाडौं, १२ चैत । रंगहरूको पर्व होली अर्थात फागु आज तराई मधेशका जिल्लाहरूमा भव्यताका साथ मनाइँदै छ । पहाडी र हिमाली जिल्लामा आइतबार (हिजो) नै होली मनाइएको थियो ।
पहाडी र हिमाली जिल्लाहरुमा होली मनाएको भोलिपल्ट तराई मधेशका जिल्लाहरुमा मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराई मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ भने हिमाली र पहाडी जिल्लाहरुमा आइतबार सार्वजनिक बिदा थियो ।
साधु परम्परा (मठ, गुरुकूल परम्परा)मा पूणिर्मा सकिएर लाग्ने प्रतिपदा तिथिमा होली खेल्ने परम्परा छ । जसअनुसार तराई मधेशका अधिकांश ठाउँमा सोमबार (आज) होली पर्व मनाइँदैछ ।
तराई–मधेशका अधिकांश क्षेत्रमा पूणिर्माको भोलिपल्ट होली पर्व मनाइने चलन भए पनि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा अन्तरगृह परिक्रमा सकेको भोलिपल्ट होली पर्व मनाउने गरिएको छ ।
सबैलाई एउटै रङ्गमा रङ्गाउने होली पर्व समानता र सद्भावको प्रेरणा स्रोत रहिआएको छ । हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई आदिमा एकताको सन्देश दिँदै यस पर्वले सबैको मनमा उमङ्ग एवं उत्साहको सञ्चार गर्दै आएको छ ।
असत्यमाथि सत्यको, छलमाथि निष्छलताको र अधर्ममाथि धर्मको विजयको प्रतीक होलीले अनेकतामा एकता कायम गर्दै आएको छ ।