काठमाडौं, १२ चेत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगिक क्षेत्रलाई आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताएका छन् ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा चितवनको कालिका नगरपालिकाबाट आएको नगरप्रमुख विनोद रेग्मी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा यस्तो बताएका हुन् । उक्त भेटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली समेत सहभागी थिए ।
चितवनको कालिका नगरपालिकामा शक्तिखोर औद्योगिक क्षेत्र बनाउने भनेर लामो समयदेखि प्रयास भए पनि बन्न सकेको छैन । भेटमा सहभागी कालिका नगरप्रमुख रेग्मीले शक्तिखोर औद्योगिक क्षेत्र स्थापनाका साथै समग्र कालिकाको विकास र समृद्धि तथा समावेशी शिक्षालगायत विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराइएको बताए ।
प्रधानमन्त्री प्रचण्डले औद्योगिक क्षेत्र स्थापनाको विषय आगामी बजेटमा सम्बोधन गर्ने आश्वासन दिँदै अर्थमन्त्री वर्षमान पुनलाई रोकिएको बजेट निकासका लागि निर्देशनसमेत दिएका छन् । भेटमा एमाले अध्यक्ष ओलीसहित अर्थमन्त्री पुन, एमाले उपमहासचिव विष्णु रिमाल, केन्द्रीय सदस्य कपिल पोखरेल, समावेशी शिक्षाविज्ञ तथा अभियन्ता डा बाबुराम ढुङ्गाना, बहिरा महासंघका निवर्तमान अध्यक्ष केपी अधिकारीलगायतको सहभागिता थियो ।