काठमाडौं, १३ चैत । निर्माण व्यवसायीले तत्काल मूल्य समायोजन गर्न सरकारसँग माग गरेका छन् । मूल्यवृद्धिका कारण काम गर्न नसकिने अवस्था सिर्जना भएको भन्दै उनिहरुले यस्तो माग गरेका हुन् ।
सरकारले बहु वर्षीय तथा अन्य १२ महिनाभन्दा बढीका आयोजनाको मूल्य समायोजन नगर्दा आफूहरूले समस्या खेप्नुपरेको निर्माण व्यवसायीको भनाई छ । पेट्रोलियम पदार्थ, फलामजन्य निर्माण सामग्री (छड, ग्याबिन तार, पाता, आइरन ब्लेड) लगायत विभिन्न निर्माण सामग्रीको मूल्यवृद्धि भएको तर सरकारले समयमा मूल्य समायोजन नगर्दा अहिले निर्माण व्यवसायीले काम गर्न सक्ने अवस्था नभएको नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामाले बताए ।
वृद्धि भएको मूल्यवृद्धिको क्षतिपूर्ति हुने गरी एकमुष्ट ठेक्काको मूल्य समायोजन गर्नुपर्ने व्यवसायीको माग छ ।
सरकारको कमीकमजोरीका कारण उच्च मूल्यवृद्धिको मूल्य समायोजन हुन नसकेको उनिहरुको भनाई छ । राष्ट्र बैंकले हरेक एक महिनामा मूल्यवृद्धिको इण्डेक्सका आधारमा हरेक महिना मूल्य समायोजन गर्दा सरकारलाई पनि जोखिम कम हुने उपादक्ष्य लामाको भनाई छ ।