सुनिता सुबेदी
काठमाडौं, १३ चैत । चालू आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा जीवन बीमाको व्यवसाय करिब १ खर्ब नजिक पुगेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा जीवन बीमाको व्यवसाय कुल ९८ अर्ब ५३ करोड १६ लाख रुपैयाँ भएको छ, जुन गत आवको फागुनसम्मको जीवन बीमा व्यवसायको तुलनामा ५ दशमलव १२ प्रतिशतले बढेको हो । गत आवको सोही अवधिमा ९३ अर्ब ७२ करोडको मात्र जीवन बीमाको व्यवसाय भएको थियो ।
पछिल्लो एक वर्षको अवधिमा प्रथम बीमा शुल्क र नविकरण बीमा शुल्क संकलन दुबैमा वृद्धि भएको छ । प्राधिकरणका अनुसार आठ महिनामा व्यवसायमा उठेको बीमा शुल्कमध्ये नवीकरण बीमा शुल्क मार्फत ७९ अर्ब ८६ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क संकलन भएको छ, जुन गत आवको फागुनसम्मको तुलनामा ६ दशलमलव २० प्रतिशतले वृद्धि हो । गत आवको सो अवधिमा ७५ अर्ब २० करोड बीमा शुल्क संकलन भएको थियो । प्रथम बीमा शुल्कबाट १८ अर्ब ६६ करोड ६१ लाख रुपैयाँ संकलन भएको छ, जुन गत आवको फागुनसम्मको तुलनामा शुन्य दशमलव ७६ प्रतिशतले वृद्धि हो । गत आवको सोही अवधिमा १८ अर्ब ५२ करोड बीमा शुल्क संकलन भएको थियो । त्यस्तै फागुनसम्ममा सक्रिय रहेको बीमालेखको सङ्ख्या कुल १ करोड ४० लाख १ हजार ५ सय ७६ रहेको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै गत आर्थिक वर्षको फागुनसम्ममा जीवन बीमाको व्यवसाय गर्ने बीमकमध्ये पहिलो नम्बरमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी चालू आवको फागुनसम्म आइपुग्दा तेस्रो नम्बरमा पुगेको छ । साथै एक वर्ष अवधिमा कम्पनीको व्यवसाय समेत आधाभन्दा धेरैले खुम्चिएको छ । कम्पनीले आठ महिनामा ११ अर्ब ५६ करोड रुपैयाँको जीवन बीमाको व्यवसाय गरेको छ, जुन गत आवको फागुनसम्मको तुलनामा ५२ दशमलव ५६ प्रतिशतले कम्पनीको व्यवसाय घटेको हो । गत आवको फागुनसम्ममा कम्पनीको २४ अर्ब ३७ करोड भन्दा धेरैको व्यवसाय भएको थियो ।
चालू आवको फागुनसम्मा सबैभन्दा धेरै जीवन बीमाको व्यवसाय नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटडले गरेको छ । कम्पनीले फागुनसम्ममा २६ अर्ब ३० करोड रुपैयाँको व्यवसाय गरेको छ, जुन गत आवको सोही अवधिको तुलनामा ७.९१ प््रतिशते बढी हो । कम्पनीले गत आवको आठ महिनामा जीवन बीमाको वयवसाय २४ अर्ब ३७ करोडको गरेको थियो । कम्पनीले प्रथम र नवीकरण बीमा शुल्कबाट क्रमशः ४ अर्ब २४ करोड र २२ अर्ब ५ करोड रपैयाँ संकलन गरेको छ ।
नेपाल लाइफ ई. कम्पनीपछि धेरै व्यवसाय गर्नेमा लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड छ । गत आवको फगुनसम्ममा ११ अर्ब ४९ करोड जीवन बीमाको व्यवसाय गरेको कम्पनीले चालू आवको आठमहिनामा ११ अर्ब ५७ करोड रुपैयाँको जीवन बीमाको व्यवसाय गरेको छ । कम्पनीले प्रथम शुल्क र नवीकरण शुल्कबाट क्रमशः १ अर्ब ३५ करोड र १० अर्ब २२ करोड बीमा शुल्क संकलन गरेको छ ।
यस्तै जीवन बीमा गर्ने अन्य बीमकमध्ये हिमालयन लाइफले ११ अर्ब १८ करोड, सूर्यज्योती लाइफले ५ अर्ब ७० करोड, एशियन लाइफले ५ अर्ब १५ करोड रुपैयाँको जीवन बीमाको व्यवसाय गरेको छ ।