काठमाडौं, १३ चैत । नेपाल नागरिक उड्डयन प्राधिकरणले सरकारी वायुसेवा कम्पनी नेपाल वायुसेवा निगमलाई ७ दिने स्पष्टीकरण सोधेको छ । युरोपेली युनियन (ईयू)को मिसनले औंल्याएका कमजोरी र प्राधिकरणले गरेको निरीक्षणका क्रममा औंल्याएका कमजोरीसमेतलाई समष्टित गरेर मंगलबार निगमलाई स्पष्टीकरण सोधेको हो ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाकाअनुसार निगमलाई प्राधिकरणले हवाई उडान सुरक्षाका विषयमा पूरा गर्नुपर्ने दायित्व र जिम्मेवारीका विषयमा स्पष्टीकरण सोधिएको हो ।
प्राधिकरणको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफ्नो दायित्व पूरा नगर्दा हवाई उडानमा कमजोरी भएको दाबी छ । निगमले स्पष्ट जवाफ नदिए वा प्राधिरकणले चित्त नबुझाए उनको एकाउन्टेवल पद खोसिने चेतावनी समेत दिएको छ ।
निगमले कन्टिन्युइङ एयरवर्दिनेस र मेन्टिनेन्स म्यानेजर लामो समयदेखि खालि राखेको, जहाजको नियमित मर्मत सम्भारमा कमजोरी गरेको, मेन्टेनेन्स अर्गानाइसेजको स्तरीकरण औषत सीमाभन्दा कम राखेको, आन्तरिक उडानको एउटा जहाज ५ वर्षदेखि आवश्यक मर्मत समयमा नगरेर ग्राउन्डेड राखेको, एउटा न्यारोबडी जहाज ४ महिनादेखि ग्राउन्डेड राखेको, निगमको आन्तरिक अडिट कमजोर रहेको, ह्याङ्गर म्यानेजमेन्ट कमजोर, जहाजलाई न्यूनतम एयववोर्दी नराखेको सहितका विषयमा २७ बुँदे स्पष्टीकरण सोधेको छ ।