काठमाडौं, १४ चैत । नेकपा माओवादी केन्द्रले इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ (१) मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
माओवादी पदाधिकारी बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलका अनुसार इलाम २ र बझाङमा उम्मेदवारी दिने निर्णय गरे पनि उम्मेदवार टुंगो लाग्न बाँकी नै छ ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले इलाम– २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गत मंगलबार धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरेको छ ।
इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुवास नेम्वाङको गत भदौ २५ गते निधन भएकाले र बझाङ १ बाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको गत असार ५ गते निधन भएपछि दुवै क्षेत्रमा वैशाख १५ मा उपनिर्वाचन हुँदै छ ।