काठमाडौं, १५ चैत । यस वर्षको शैक्षिक सत्रको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (बिहीबार)बाट सुरु भएको छ । ऋाज बिहान ८ बजेदेखि सुरु भएको परीक्षाका लागि देशभर दुई हजार ६४ केन्द्र तोकिएका छन् भने परीक्षामा देशभरका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
काठमाडौं जिल्लामा सबैभन्दा बढी परिक्षा केन्द्र छन् । काठमाडौंमा मात्रै एक सय २७ परीक्षा केन्द्र छन् । यस्तै मनाङ र मुस्ताङमा सबैभन्दा कम एक–एक परीक्षा केन्द्र छन् ।
एसईई परीक्षाका लागि सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र रहेका छन् । यस्तै यौनिक तथा लैंगिक अल्पसंख्यक १५ जना छन् ।
राष्ट्रिय परीक्षा बोर्डले यसपटक भने परीक्षाको नतिजाको प्रणाली परिवर्तन गरेको छ । विगतका एसईई परीक्षामा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत अंक ल्याउनुपर्ने प्रावधान रहेकामा यस वर्षदेखि विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
यस्तै परीक्षा सञ्चालनका लागि ७७ हजार पाँच सय जनशक्ति परिचालन गरिएको छ । त्यसमध्ये ३० हजार नौ सय ५० सुरक्षाकर्मी छन् । बोर्डले सुरक्षा संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ ।
२७ चैतसम्म सञ्चालन हुने परीक्षा सकिएपछि देशभरका ६० परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण हुनेछ । परीक्षण केन्द्रमा उत्तरपुस्तिका पु¥याउने र नतिजा सार्वजनिक नहुँदासम्म सुरक्षा दिने जिम्मा प्रहरीकै रहने बोर्डले जनाएको छ ।