काठमाडौं, १५ चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएका बताएकी छन् ।
बिहिबार घोराही उपमहानगरपालिका–१६ तेरौंटेमा रहेको ज्येष्ठ नागरिक सरोकार केन्द्रमा भएको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले ज्येष्ठ नागरिकका लागि केन्द्रले गर्दै आएको काम निकै प्रभावकारी रहेको बताइन् ।
समयको व्यस्तताले परिवारबाट एक्लिएका ज्येष्ठ नागरिकलाई केन्द्रले दिएको आवासीयसहितको सेवाले उहाँहरुलाई जीवनयापनमा निकै सहज भएको उनको धारणा छ । कतिपय अवस्थामा कामको व्यस्तता र जिम्मेवारीका कारण एउटै परिवार पनि छुट्टिएर बस्नुपर्ने अवस्था रहेको भन्दै उनले ज्येष्ठ नागरिक एक्लिरहेको बताइन् ।
ज्येष्ठ नागरिकलाई पालनपोषण र हेरविचार गर्नुपर्ने परिवारको दायित्व भए पनि पछिल्लो समय कतिपय ठाउँमा विभेद गरेको र आश्रममा लगेर छाडेका घटना आउने गरेका उल्लेख गर्दै उनले त्यस्ता घटनालाई रोकेर सकेसम्म परिवारमै माया ममता दिएर राख्न आवश्यक रहेको बताइन् ।
पछिल्लो पुस्तामा अभिभावकको कर्तव्य पालना गर्नमा समस्या देखिने क्रम बढेको भन्दै युवापुस्तामा नैतिक शिक्षा र अभिभावकप्रतिको जिम्मेवारी बोध गराउन राज्यका सबै निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ । साथै उनले ज्येष्ठ नागरिक सरोकार केन्द्रमा रहेको पार्कलाई व्यवस्थित गर्नेलगायत अन्य भौतिक संरचना निर्माणका लागि आवश्यक पहलका लागि आफ्नातर्फबाट कोसिस रहने बताएकी चन् ।