काठमाडौं, १६ चैत । पाट पल्टिएको क्रिप्टो एक्सचेञ्ज फर्म,एफटीएक्सका सह–संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको जेल सजाय सुनाइएको छ । बैंकम्यानमाथि क्रिप्टो फ्रड गरेर ग्राहकहरुको पैसा चोरेको र लगानीकर्तालाई ठगेको आरोप लागेको छ ।
यो मुद्धामा बैंकम्यानका ३ जना साथीलाई समेत दोषि ठहराइएको छ । बैंकम्यानलाई सन् २०२२ डिसेम्बरमा बहमासबाट पक्राउ गरिएको थियो । पक्राउ परेपछि उनलाई अमेरिका सुपुर्दगी गरिएको थियो । उनलाई सन् २०२३ मा लगानीकर्ता तथा ग्राहकको ८ अर्ब डलरभन्दा बढी रकम हिनामिना गरेकोमा दोषी पाइएको थियो ।
यो घटनालाई अमेरिकी इतिहासमा सबैभन्दा ठूलो घोेटालामध्ये एक मानिएको छ । बैंकम्यान पक्राउ परेपछि अमेरिकी सेयर बजारमा भारी गिरावट आएको थियो । कुनैबेला एफटीएक्स विश्वको सबैभन्दा दोस्रो ठूलो क्रिप्टो एक्सचेञ्ज फर्मका रुपमा रहेको थियो ।
बैंकम्यानलाई अमेरिकाको म्यानहटन डिस्ट्रक कोर्टले सजाय सुनाएको हो । अदालतले उनको ११ अर्ब डलर सम्पत्ति जफत गर्ने निर्णय गर्दै उनलाई सान फ्रान्सिस्को क्षेत्रको एउटा मध्यम सुरक्षा भएको जेलमा राख्न निर्देशन दिइएको छ ।
अभियोजनकर्ताले बैंकम्यानलाई ४० देखि ५० वर्षको सजायको माग गरेका थिए । यो घटनाले विश्वका कयौ संस्थाहरु प्रभावित बनेका थिए । जसका कारण १० अर्ब डलरभन्दा बढीको क्षती भएको जनाइएको छ ।
सोयटर्सको रिपोर्टका अनुसार बैंकम्यानले आफ्नो ट्रेडिङ आर्म अल्मेडामा गोप्य रुपमा एफटीएक्सबाट १० अर्ब डलर कस्टमर फण्ड ट्रान्सफर गरेका थिए । अल्मेडाले यो फण्डको उपयोग ट्रेडिङका लागि गर्ने गर्थ्यो ।
जब ट्रेडिङमा यो फर्मलाई घाटा लाग्यो तब,क्रिप्टो क्वाइनडेक्सले एउटा ब्लायलेन्स शीट सार्वजनिक गर्यो । यो रिपोर्ट बाहिरिएपछि एफटीएक्समा उथलपुथल आयो । एफटीएक्समा तीन दिनमा करिब ६ अर्ब डलरको विथड्रल रिक्वेस्ट आएको थियो । अचानक यति ठूलो मात्रामा आएको विथड्रल रिक्वेस्टले कम्पनीमा लिक्वीडीटी क्रन्च आएको थियो । यसपछि उनले टाट पल्टिएको भन्दै आवेदन दिएका थिए ।
यो प्रकरण बाहिरिएपछि बैंकम्यानको १६ अर्ब डलरको सम्पत्ति केहि दिनमा नै शुन्यमा झरेको थियो । एक समय उनको सम्पत्ति २६ अर्ब डलरसम्म पुगेको थियो । –एजेन्सी