काठमाडौं, १६ चैत । नेपालको पहिलो र एकमात्र पूर्वाधार बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)ले प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदका लागि दरखास्त आह्वान खुलाएको छ । निफ्राले एक सूचना जारी गर्दै सीईओ पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
यसअघिका सिइओ रामकृष्ण खतिवडाले गत माघमा राजीनामा दिइपछि दिएका थिए । रिक्त पदमा अहिले सूर्यबहादुर तामाङले बैंकको निमित्त सीईओको जिम्मेवारी सम्हालिरहेका छन् ।
सीईओ पदका लागि व्यवस्थापन, बैंकिङ, फाइनान्स, मोनिटरी,अर्थशास्त्र, कर्मसी, अकाउन्टेन्सी, तथ्याङ, अकाउन्टिङ, गणित, व्यवसाय प्रशासन वा कानुनमा स्नाकोत्तर गरेको हुनुपर्ने बैंकले बताएको छ । साथै कम्तीमा १० वर्ष अफिसर स्तरमा काम गरेको वा बैंकिङ अथवा वित्त क्षेत्र, सरकारी निकायहरु, निजी क्षेत्र, विश्वविद्यालय अथवा अन्तर्राष्ट्रिय निकाय वा संस्थाहरु अधिकृतभन्दा माथिल्लो तहमा काम गरेको हुनुपर्नेछ ।
यस्तै सीईओ पदका लागि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मापदण्ड पुरा गरेको हुनुपर्ने बैंकले जनाएको छ । योग्य इच्छुक आवेदकले आवश्यक कागजातसहित आगामी ५ वर्षे व्यवसायिक रणनीति कार्ययोजना समावेश गरी चैत २९ गते ५.३० बजेसम्म आवेदन दिनु पर्ने बैंकले जनाएको छ । सर्टलिस्टमा परेका आवेदकलाई अगाडीको छनोट प्रक्रियामा समावेश गरिने छ ।