काटमाडौं, १६ चैत । विभिन्न स्थानीय तहले सडक बत्तीमा प्रयोग गरेको विद्युत्को महसुल नतिरेको भन्दै प्राधिकरणले तत्काल महसुल तिर्न आग्रह गरेको छ । शुक्रबार प्राधिकरणले एक सूचना जारी गर्दै विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोगबापतको ६ अर्ब रुपैयाँ तिर्न बाँकी रहेको भन्दै महसुल तत्काल तिर्न आग्रह गरेको हो ।
प्राधिकरणले शुक्रबार सूचना जारी गरेको सूचनामा भनेको छ, ‘प्राधिकरणबाट स्वीकृति नलिई सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ (संशोधनसहित) को दफा २ को खण्ड (ङ १) बमोजिम गैरकानुनी रहेको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ । विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत करिब ६ अर्बभन्दा बढीको विद्युत् महसुल नेपाल विद्युत् प्राधिकरणलाई तिर्न÷बुझाउन बाँकी रहेको छ ।’
पत्राचारमार्फत् जानकारी गराइँदै आए पनि हालसम्म महसुल नतिरेको प्राधिकरणले बताएको छ । यस्तै प्राधिकरणले सूचनामार्फत बक्यौता महसुल नतिर्ने र बिनामिटर जडान गरिएका सडक बत्ती नेपाल विद्युत् प्राधिकरणबाट हटाइने भएकाले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी रीतपूर्वक ग्राहक बनी मिटरमार्फत् सडक बत्ती जडान गर्न तथा गराउने आग्रह गरेको छ ।