काठमाडौं, १६ चैत । काठमाडौँ उपत्यकाभित्र मौसमी रुघाखोकी लागेको भनिएका केही बिरामीहरूको अवस्था गम्भीर बनेको र जाँच गर्दा कोभिड–१९ पुष्टि भएको अधिकारीहरूले बताएका छन् । उनीहरूले समुदायमा अझै पनि कोरोनाभाइरस सङ्क्रमण रहिरहेकाले सतर्कता अपनाउन तथा खोप लगाउन सर्वसाधारणलाई आग्रह समेत गरेका छन् ।
सङ्क्रामक रोगको उपचार गरिने देशकै प्रमुख स्वास्थ्य केन्द्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत सातादेखि अहिलेसम्म १० जनाभन्दा बढी सिकिस्त बिरामी भर्ना भएको अधिकारीहरूले बताए । भर्ना भएका सबै बिरामीलाई सघन उपचार कक्षमा राख्नुपरेको र अहिले पनि चार जना आईसीयूमै रहेको उक्त अस्पतालका प्रमुखले जानकारी दिए ।
यो कोरोनाभाइरसको पुरानै भेरिअन्ट हो वा नयाँ भन्ने यकिन गर्न परीक्षण भइनसकेको अधिकारीहरूले भनाई छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा युवानिधि बसौलाका अनुसार कोभिडका कारण सिकिस्त भएर भर्ना हुनेहरू सबैजसो जेष्ठ नागरिक छन् । उनले भने, ’उहाँहरू सबैको उमेर ६० वर्षभन्दा माथि नै देखिएको छ र अलि गम्भीर बिरामी भएरै आउनुभएको थियो । सबैलाई आईसीयूमै राखेर उपचार गर्नुप¥यो। केही बिरामी दमजस्ता दीर्घरोगबाट पनि पीडित हुनुहुन्छ ।’ यस्तै उनले अस्पतालमा भर्ना भएका बिरामीहरूले पहिले मौसमी रुघाखोकी ठानेर कोभिडको परिक्षण नगरेको पाइएको बताए ।
उनले भने, ’मौसमी रुघाखोकी भनेर अन्य अस्पताल जाँदा कोभिडको शङ्का गरेर यता पठाइएका बिरामी पनि हुनुहुन्छ । कोभिड भएर यहाँ आएका सबैजसो व्यक्तिमा निमोनिया पनि देखिएकाले उहाँहरू सिकिस्त हुनुभएको हो र अक्सिजन दिएरै उपचार गर्नुपर्ने अवस्था आएको हो ।’ अस्पतालमा मौसमी रुघाखोकी लागेको भनेर आउने बिरामीहरूको पीसीआर परीक्षण गर्दा कोभिड पुष्टि भइरहेको उनको भनाइ छ ।
डा बसौलाले केही सातायता उपत्यकाभित्र धेरै स्थानमा कैयौँ मानिसलाई मौसमी रुघाखोकी लागेको र निको हुन लामो समय लागेको विवरण आइरहेकाले कोभिड समुदायस्तरमा रहेको हुन सक्ने बताए । यस्तै उनले उनले रुघाखोकी लागेर केही दिनमा पनि निको नभए कोभिड परीक्षण गर्न पनि सुझाव दिए । साथै खोप नलगाएका वा लगाएर पनि छ महिनाभन्दा बढी भएका व्यक्तिहरूलाई कोभिडको अतरिक्त मात्रा खोप लगाउन आग्रह गरे ।
उनले भने, ’हामीले आकस्मिक कक्षमा हरेक दिन बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म फाइजर खोप लगाउने व्यवस्था गरेका छौँ । यो निस्शुल्क हो, त्यसैले खोप लगाउन हामी आह्वान गर्छौँ।’ बीबीसी