काठमाडौं, १८ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनाका सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सम्बन्धमा प्रहरी प्रमुखले दिएको जवाफले संशय पैदा गरेको बताएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा समय लिएर पार्टीका तर्फबाट बोल्दै कांग्रेसका सांसद संजयकुमार गौतमले भने, ‘प्रधानमन्त्रीको जवाफ, प्रहरी प्रमुखको जवाफ र विकसित घटना क्रमले एउटा संशय पैदा भएको छ ।’
यही चैत १४ गते प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रहरी महानिरीक्षक वसन्त कुँवरले पोखरास्थित सूर्यदर्शन सहकारीको ठगीमा लामिछाने निर्दोष रहेको बताएका थिए । प्रहरी महानिरीक्षक कुँवरले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछानेलाई निर्दोष भनेको स्मरण गर्दै कांग्रेस सांसद गौतमले यस्तो बताएका हुन् ।
कांग्रेसले गत फागुन २४ गतेदेखि गृहमन्त्री लामिछानेका सन्दर्भमा संसदमा प्रश्न उठाउँदै आएको छ ।
यस्तै गौतमले लामिछानेको गृहमन्त्रालयमा स्वार्थ बाझिने पनि उनले बताए । यो विषय नैतिक विषय भएको बताए । प्रश्न उठेका व्यक्तिका सन्दर्भमा प्रधानमन्त्री गम्भीर नभएको कांग्रेस सांसद गौतमको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डलाई सांसद गौतमको प्रश्र गरे, ‘प्रधानमन्त्रीज्युले ठूलो माछा काखीमा च्यापेर सानो माछा मात्रै खोजी गर्ने कुरामा प्रतिबद्धता जनाएर पुग्छ ?’ आफूहरुले गम्भीर रुपमा प्रश्न उठाएको र गृहमन्त्रीका सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा कायम रहेको बताए ।