काठमाडौं, १८ चैत । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबीच भेटवार्ता भएको छ । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री लामिछाने र साम्पाङबीच भेटवार्ता भएको हो .
भेटका क्रममा उनीहरूबीच लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे छलफल भएको छ । छलफलमा गृहमन्त्री लामिछानेले देशभरि नै लागु औषध दुर्व्यसनी बढिरहेको भन्दै त्यसलाई नियन्त्रणमा ल्याउनका लागि पहल गरिरहेको बताए .
लामिछानेले भने, ‘नेपाल भरि लागु औषध दुर्व्यसनीको धेरै नै ठूलो समस्या सिर्जना भइसकेको छ। सबैतिर भएपछि त्यहाँ (धरान )मा पनि समस्या ठूलै छ । यसमा विशेष अभियान नै चलाएर संयुक्त रूपमा सबै तहका सरकारहरू बसेर संयुक्त प्रयास गर्न पर्छ ।’
यस्तै उनले लागु औषध दुर्व्यसनीलाई नियन्त्रण गर्न प्रमुख साम्पाङसँग सहयोगको अपिल समेत गरका छन् । त्यसैक्रममा आफूले धरानमा हरेक शुक्रबार ‘सुधारबार’ भनेर अभियान गरिरहेको प्रमुख साम्पाङले बताए। साम्पाङले भने,‘९६ हप्ता पुगिसक्यो म माइक बोकेर हिँडेको, हिँडिरहेको छु । प्रत्येक शुक्रबार ’सुधारबार’ भनेका छौं । त्यो दिन लागुऔषध विरूद्धको सचेतना भेला राख्दै चोकचोकमा कुद्दै आएको दिनदेखि छोडेको छैन ।’
यस्तै प्रमुख साम्पाङले धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त स्रोत–साधनको माग गरेका छन् । साम्पाङले राखेका गुनासोमा गृहमन्त्री लामिछानेले आफू गम्भीर भएको बताउँदै सम्बोधन प्रक्रिया सुरू गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।