काठमाडौं, १८ चैत । त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय टोलीले भारतको राज्यस्तरीय टोली गुजरातबाट जितका लागि ९९ रनको सामान्य लक्ष्य पाएको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा अलआउट हुनुअघि ९८ रनमात्र बनाउन सक्यो ।
गुजरातलाई ठुलो लक्ष्य बनाउन नदिन नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरे । नेपालका गुलशन झाले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए । उनले १४ औँ ओभरको तेस्रो र पाँचौँ बलमा लगातार दुई विकेट लिएका थिए । यस्तै करण केसीले ३.२ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रले ४ ओभरमा २३ र अभिनाश बोहराले ३ ओभरमा १७ रन खर्चिए ।
गुजरातका ओपनर रुद्र मयुर पटेल २२ बलमा ४ चौकासहित सर्वाधिक २३ रनमा आउट भए । आर्यन देशाई ४, उमांग पटेल ५, स्मित पटेल १०, अभिषेक देशाई ११ र हेमांग पटेल २० र ऋषि पटेल १ रनमा आउट भए । सराल प्रजापति १७ रनमा आउट भए ।