काठमाडौं, १९ चेत । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनी सात दिनको भ्रमण पूरा गरी सोमबार बिहान स्वदेश फर्किएका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो भ्रमण सफल भएको बताएका छन् । नेपालको केन्द्रीय कार्यभार आर्थिक विकास र समृद्धि भएको भन्दै मन्त्री श्रेष्ठले त्यसका लागि चीनको सहयोग चाहिन्छ भनेर छलफल गरेको जानकारी दिदै उक्त परिणाम सकारात्मक आउने विश्वास व्यक्त गरे । आर्थिक विकासको विषयमा बुँदाबुँदामा छलफल भएको उनको भनाइ छ ।
सोही क्रममा उनले नेपाल चीनबीच विद्यमान मैत्रीपूर्ण सम्बन्धका विविध आयामहरुमा नियमित रुपमा उच्चस्तरमा छलफल गर्न नेपाल र चीनका परराष्ट्रमन्त्रीस्तरमा एक संयुक्त आयोग गठन गर्न दुवै पक्ष सकारात्मक भएको जानकारी दिएका छन् ।
मन्त्री श्रेष्ठले कोभिड महामारीका कारण बन्द भएका नेपाल–चीनबीच विद्यमान १४ वटा परम्परागत व्यापार सीमा नाकाहरु यथाशीघ्र खोल्न चीन तयार भएको पनि बताए ।
उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत ११ गते चीन भ्रमणमा गएका थिए । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी) का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यी, चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयान लगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए । बेइजिङमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन पनि गरेका थिए ।