काठमाडौं, १९ चैत । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले एनसेल र सुनकाण्डको प्रतिवेदन संसदमा प्रस्तुत गर्न सरकारसँग माग गरेको छ । कांग्रेसका सांसद अर्जुननरसिंह केसील सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दैे एनसेल र सुनकाण्डको प्रतिवेदन संसदमा प्रस्तुत गर्न सरकारसँग माग गरेका हुन् । सो क्रममा उनले सरकारले लगाएको भ्रष्टाचारको दुष्चक्रबाट उन्मुक्ति र सुशासनको नारा झुटको पुलिन्दा हुँदै गएको बताए ।
प्रतिनिधि सभाको शून्य समयमा उनले भने, ‘राज्यको विधि पालना र दण्ड व्यवस्थापनमा करुणा वा क्षमाको बहानामा दण्डनीय कसुरलाई उन्मुक्ति दिने, व्याप्त भ्रष्टाचार, जघन्य अपराध र विधिहीनतालाई करुणाको जामामा चोक्खिने र चोख्याउँदै जाने हालैको गतिविधिले भ्रष्टाचारको दुष्चक्रबाट उन्मुक्ति र सुशासनको नारा केबल झुटको पुलिन्दा हुँदै छ । खर्बौं भ्रष्टाचार एनसेल र सुनकाण्डको प्रतिवेदन अहिलेसम्म किन आएन ? तुरून्त सदनमा प्रस्तुत होस् ।’