काठमाडौं, २० चैत । विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । मंगलबार विश्व बैंकले नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै वर्ष २०२४ मा ३.३ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो । गत जनवरी (पुस)मा विश्व बैंकले नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत हुने प्रक्षेपण सार्वजनिक गरेको थियो ।
गत वर्ष २०२३ मा आर्थिक वृद्धि २.२ प्रतिशत रहेको विश्व बैंकले जानकारी दिएको छ । तर सरकारले भने यो आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।
विश्व बैंकका अनुसार अर्को वर्ष भने ४.६ प्रतिशत आर्थिक वृद्धि हुनेछ । सरकारले वर्ष २०२३÷२४ मा ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिए पनि केन्द्रिय तथ्यांक कार्यालयबाट आधिकारिक तथ्यांक आइसकेको छैन । यसअघि एसियाली विकास बैंकले ४.३ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गर्दै आएको छ ।
यस्तै चालु खाता यो वर्षका साथै आगामी दुई वर्ष पनि नाफामै रहने प्रक्षेपण विश्व बैंकको छ ।
विश्व बैंकका अर्थशास्त्री नयनकृष्ण जोशीले पर्यटन क्षेत्रले आर्थिक वृद्धिलाई योगदान गरिरहेको र विद्युत उत्पादनले पनि राम्रो गरिरहे पनि निजी क्षेत्रको लगानी घटेको बताए । राजनीतिक अस्थिरताले निजी लगानीलाई घटाएको देखिएको उनको भनाइ छ ।