काठमाडौं, २० चैत । सरकारले समस्याग्रस्त घोषणा गरेपछि काठमाडौँको कुलेश्वर स्थित गौतमश्री बहुउदेश्य सहकारी संस्था लिमिटेड सर्वोच्च अदालत पुगेको छ ।सहकारीका अध्यक्ष राम बहादुर गौतमले आफ्नो सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने विषयमा भएका सम्पुअर्ण निर्णय बदर गर्न माग गर्दै चैत्र १८ गते सर्वोच्चमा रिट दायर गरेका हुन् ।
गौतमले उक्त रिटमा नेपाल सरकार,भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, सहकारी विभाग, समस्याग्रस्त सहकारी ब्यवस्थापन समिति, सहकारी रजिष्ट्रार कार्यालय कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका छन् ।
उक्त रिटमा चैत्र १९ गते सोमबार सर्वोच्चका न्यायधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलाशले उक्त रिटको सुनुवाई गर्दै सहकारीलाई समस्याग्रस्त घोषणा गरिएकोमा सम्पूर्ण विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ । साथै निवेदकको माग बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्ने निर्क्योल गर्न दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
भूमि व्यवस्था¸सहकारी तथा गरिबी निवारण मन्त्रालयले चैत्र १३ गते सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो । सहकारी विभागले सो सहकारीले सदस्यहरुको हित विपरित काम गरेको, बचत फिर्ता नगरेको, सहकारी ऐन, नियम र निर्देशनको पालना नगरेको लगायतका कारण देखाउँदै मन्त्रालयमा समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो । सोहि अनुसार उल्लेखित सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यताको विपरित कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको मन्त्रालयले जनाएको छ।