काठमाडौं, २० चैत । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चैत २२ गते (बिहीबार) विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शाहले मंगलबार विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् ।
यस लगतै प्रदेशसभा सचिवालयले बिहीबार ३ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना निकालेको प्रदेशसभा सचिव देवबहादुर बोगटीले जानकारी दिए ।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्री शाहले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गरेका थिए । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ ।
५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद आवाश्यक पर्छ । प्रदेशसभाको सबभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन् । गठबन्धनसँग माओवादीका १० (सभामुख बाहेक), एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन् । गठबन्धनलाई नयाँ सरकार गठनका लागि बहुमत जुटाउन पनि नागरिक उन्मुक्ति पार्टीको समर्थन चाहिन्छ ।