काठमाडौं, २० चैत । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले बाहिरबाट प्रशिक्षार्थी कर्मचारी भर्ना गरेर काम गराउन ल्याएको कार्यविधिमाथि प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको छ ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठककोनेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले विशेष समयमा बाल्दै मन्त्री श्रेष्ठले निजामती कर्मचारीलाई बाइपास गरेर बाहिरबाट कर्मचारी भर्ना गर्न खोजेकोप्रति आपत्ति जनाएका छन् ।
शिक्षा मन्त्रालयका विभिन्न शाखामा रहेका निजामती कर्मचारी कामविहीन भइरहेको अवस्थामा बाहिरबाट कर्मचारी भर्ना गर्नुको औचित्य नहुने उनको भनाई छ । उनले भइरहेका कर्मचारीमाथि अविश्वास गरेर र त्यसरी बाहिरबाट प्रशिक्षार्थी कामदार ल्याउँदा सरकारी सूचनाको गोपनीयता भङ्ग हुने बताए ।
प्रतिनिधि सभामा उनले भने–‘भइरहेका कर्मचारीलाई अविश्वास गरी बाहिरबाट प्रशिक्षार्थीका रूपमा कर्मचारी भर्ना गर्दा ७४ हजार निजामती कर्मचारीमा कस्तो प्रभाव पर्ला ? सरकारले सोचेको छ ? के हेर्नुभएको छ सरकारका प्रधानमन्त्रीले ? उहाँका सबै मन्त्रीहरूलाई आफूखुसी मन्त्रालय चलाउने छुट दिनुभएको हो ? त्यो छुट्टै आइल्याण्ड हो ? जे मन लाग्यो त्यही निर्णय गर्न पाइन्छ ? अनि यी सित्तैमा काम गर्न आउने मान्छे हो कि होइनन् ? शिक्षामन्त्रीले गरेजस्तै मेरो अन्डरका पुलिसले काम गरेनन्, सहयोग गरेनन्, म छुट्टै प्रशिक्षार्थी पुलिस भर्ना गर्छु भन्ने कि नभन्ने ?’
उक्त कामले देशलाई र विधिको शासनलाई कहाँ पु¥याउँछ भन्दै सांसद पाण्डेले प्रश्न गरे । यस्तै उनले मन्त्री श्रेष्ठले प्रशिक्षार्थी कामदार राख्ने कार्यविधिले निजामती कर्मचारीको मनोविज्ञानमा असर पर्छ कि पर्दैन भन्दै शिक्षा मन्त्रीलाई जवाफका लागि रुलिङ गर्न सभामुखलाई आग्रह गरे ।