काठमाडौं, २१ चैत । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने इलाम–२ मा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ ।
जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मंगलबार मुख्य निर्वाचन अधिकृत तोकिएको निर्वाचन आयोगले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय भने यही चैत २२ मा इलाम सदरमुकाममा स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।
उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ । उपनिर्वाचन भाग लिन २० दल दर्ता भएको आयोगले जनाएको छ । निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने उक्त कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको छ ।
यस्तै इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेको आयोगले बताएको छ । निर्वाचन आयोगकाअनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिने छ ।