काठमाडौं, २२ चैत । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान छ । कम्पनीको चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख १४ गते काठमाण्डौ रामशाहपथमा रहेको कम्पनीको प्रधान कार्यालयमा दिउँसो ४ बजे बस्ने गरी उक्त सभा आह्वान गरेको हो ।
उक्त सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यस्तै सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको साबिकको राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६९÷७०, २०७०÷७१ र २०७१÷७२ सम्मको वासलात, नाफा–नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु सहित अनुसूचीहरु माथि छलफल गरी पारित गर्नेछ ।
सभामा आर्थिक वर्ष २०७६÷७७, २०७७÷७८ र २०७८÷७९ को लेखापरीक्षण गर्न महालेखापरीक्षक कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त भएका बाह्य लेखापरीक्षकद्वय सुवास पौडेल र विजयसिंह पराजुलीको नियुक्ति र निजहरुको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ ।
कम्पनीको नियमावलीको नियम (५१) मा भएको संक्रमणकालीन व्यवस्थाको उपनियम (१) मा साबिक राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत भएपछि ६ महिनाभित्र पहिलो साधारणसभा सम्पन्न गर्नुपर्ने व्यवस्था रहेकाले सोही व्यवस्था बमोजिम साधारणसभा बोलाइएको कम्पनीले जनाएको छ ।