काठमाडौं, २३ चैत । चालू आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा करिब २ खर्ब कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बेंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा १ खर्ब ९९ अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा ५५ दशमलव ६४ प्रतिशतले बढेको हो । गत आवको फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा १ खर्ब २८ अर्ब १८ करोड रुपैयाँ कर्जा प्रवाह भएको थियो । यस्तै वार्षिक बिन्दुगत आधारमा फागुनसम्ममा यस्तो कर्जा ५.२ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा जाने कर्जामध्ये सबै भन्दा धेरै घर जग्गा धितो सुरक्षणमा गएको छ । चालू आवको आठ महिनामा घर जग्गा धितो सुरक्षणमा मात्रै ६७ दशमलव ५ प्रतिशत कर्जा प्रवाह भएको छ । गत आवको सो अवधिमा पनि यस्तो कर्जा ६७.५ प्रतिशत नै थियो ।
यस्तै फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणमा ११ दशमलव ७ प्रतिशत कर्जा प्रवाह भएको छ, जुन गत आवको सो अवधिको तुलनामा ०.५ प्रतिशत विन्दुले कम हो । गत आवको फागुनसम्ममा यस्तो कर्जा प्रवाह १२.२ थियो ।
चालू आवको फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये सबै भन्दा धेरै गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ कर्जा प्रवाह भएको छ । आठ महिनामा गैर– वित्तीय संस्थागत क्षेत्रतर्फ ६३ दशमलव २ कर्जा प्रवाह भएको छ । गत आवको सो अवधिमा यस्तो कर्जा ६४ दशमलव ६ प्रतिशत थियो । यस्तै आठ महिनामा व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३६ दशमलव ८ प्रतिशत कर्जा प्रवाह भएको छ । गत आवको फागुनसम्ममा यस्तो कर्जा ३५ दशमलव ४ प्रतिशत थियो ।
फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.३ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको ८.७, निर्माण क्षेत्रतर्फको ६.०, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ८.३, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको ३.२, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.२ र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.० प्रतिशतले बढेको छ ।