काठमाडौं, २३ चैत । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ फागुनमा उपभोक्ता मुद्रास्फीति ४ दशमलव ८२ प्रतिशतमा झरेको छ, जुन गत आवको फागुनको तुलनामा २.९२ प्रतिशत विन्दुले घटेको हो । गत आवको सो अवधिमा उपभोक्ता मुद्रास्फीति ७ दशमलव ४४ प्रतिशत थियो ।
समग्रमा मुद्रास्फीति घटे पनि गत आवको फागुनको तुलनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति भने बढेको छ । राष्ट्र बैंकका अनुसार चालू आवको फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत रहेको छ, जुन गत आवको सो अवधिको तुलनामा ० दशमलव ३ प्रतिशत विन्दुले बढी हो । गत आवको फागुनमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५ दशमलव ६४ प्रतिशत थियो ।
यस्तै चालू आवको आठ महिनामा गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ, जुन गत आवको फागुनको तुलनामा ४ दशमलव ९२ प्रतिशत विन्दुले कम हो । गत आवको सो अवधिमा यस्तो मुद्रास्फीति ८ दशमलव ८७ प्रतिशत थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २८.१७ प्रतिशतले बढेको छ । त्यस्तै तरकारीको १४.०७ प्रतिशत, दाल तथा गेडागुडीको ११.२, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ र दुग्ध पदार्थ तथा अण्डाको ७.११ प्रतिशतले बढेको छ ।
चालू आवको फागुनमा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क भने ११ दशमलव ७९ प्रतिशतले घटेको छ ।
यस्तै आठ महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.६१ प्रतिशतले बढेको छ । त्यस्तै विविध वस्तु तथा सेवाहरुको १०.६७ र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १.१५ प्रतिशतले घटेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको फागुनमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८८ प्रतिशत रहेको छ । यस्तै तराईको ४.४२ प्रतिशत, पहाडको ५.४९ प्रतिशत र हिमालको ४.४२ प्रतिशत रहेको छ ।