काठमाडौं, २५ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को आसन्न १०औँ महाधिवेशनका लागि चारवटा दस्तावेज तयार भएका छन् । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका माधवकुमार नेपालले तयार गरेको राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेज र साङ्गठनिक दस्तावेजको लेखन पूरा भएको हो ।
उक्त दस्तावेजमा राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय घटनाक्रम समावेश गरिएको छ । यस्तै देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, विविधताबीचको एकता, सामाजिक सांस्कृतिक पक्ष पनि दस्तावेजमा समेटिएको छ ।
यस्तै पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले तयार गरेको समाजवादी कार्यक्रमसम्बन्धी दस्तावेजमा वैज्ञानिक समाजवादको अवधारणा, समाजवादको स्वरुप, आर्थिक रुपान्तरणलगायत विषय समावेश गरिएको छ भने उपाध्यक्ष बेदुराम भुसालले तयार पारेको विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित भएर आउनुपर्ने व्यवस्था गरिएको छ ।
यस्तै महासचिव घनश्याम भुसालले तयार पारेका साङ्गठनिक दस्तावेजमा पार्टीको सङ्गठन निर्माणमा देशभरका सबै पालिका, वडा, टोल, जिल्ला, प्रदेश र केन्द्रसम्मको सदस्यतालाई व्यवस्थित गर्दै फैलनुपर्ने उल्लेख गरिएको छ ।
पार्टीको राष्ट्रिय महाधिवेशन आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा हुँदैछ ।