काठमाडौं, २५ चैत । कृषि विकास बैंकले एडिबिएल स्मार्ट प्लस एपमा कर्जाको नयाँ सुविधा सुरु गरेको छ । बैंकका अनुसार उक्त सुविधामार्फत ग्राहकले विनाकुनै धितो बैंकिङ एपबाटै ग्राहकले दुई लाख रुपैयाँसम्म तुरुन्तै कर्जा प्राप्त गर्न सकिनेछ ।
यस बैंकमा तलबी प्रकारका खाता भएका योग्य ग्राहकले बैंकले तोकेको सीमाअनुसार मोबाइल बैंकिङ एपबाट कर्जा लिन, मासिक किस्ताका आधारमा उक्त कर्जाको भुक्तानी तीनदेखि एक वर्षसम्म तय गर्न सक्ने बैंकले जनाएको छ । साथै पूर्वभुक्तानीको विकल्प पनि रहेको बैंकले जनाएको छ ।
एडिबिएल इन्स्ट्यान्ट फोन लोनका लागि योग्य ठहरिएका ग्राहकले ‘बाई नाउ, पे लेटर’को सुविधा पनि प्राप्त गर्न सकिने छ । साथै यसबाट ग्राहकले आफूलाई चाहिएको सामानको खरिद गर्न अनुमति दिने र यसलाई निर्धारित समयभित्र मासिक किस्तामा भुक्तानी गर्नुपर्ने बैंकले जनाएको छ ।
यस्तै ग्राहकले ‘कन्भर्ट टु इएमआई’ सुविधा पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यसअन्तर्गत ग्राहकले आफ्नो अघिल्लो ठूलो कारोबार रकमलाई कर्जामा रूपान्तरण गरी मासिक किस्तामा भुक्तानी गर्न सक्नेछन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले एडिबिएल स्मार्ट प्लसमा फोन लोन सुरु भएसँगै अब लोन लिन बैंक आउनुपर्ने र धितो चाहिने झन्झट अन्त्य भएको बताए ।