काठमाडौं, २५ चैत । चालू आर्थिक वर्ष २०८०८१ को आठ महिनामा धितोपत्र बजार पूँजीकरण ३३ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०८१ को आठ महिनामा धितोपत्र बजार पँुजीकरण ३३ खर्ब १४ अर्ब ६३ करोड रुपैयाँ कायम भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा १७ दशमलव ३८ प्रतिशतले बढी हो । गत आवको फागुनसम्ममा धितोपत्र बजार पूँजीकरण २८ खर्ब २३ अर्ब ६८ करोड रुपैयाँ थियो ।
यस्तै राष्ट्र बैंकका अनुसार चालू आवको फागुन महिनामा नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचकाङ्क २ हजार १ सय ८ दशमलव ७३ को विन्दुमा पुगेको छ, जुन गत आवको सोही अवधिको तुलनामा १५५.६७ विन्दुले बढी हो । गत आवको फागुन मसान्तसम्म्मा नेप्से परिसूचक १ हजार ९ सय ५३ दशमलव ०६ को विन्दुमा थियो ।
चालू आवको फागुनसम्ममा नेप्सेमा सूचीकृत हुने कम्पनीहरूको संख्या २ सय ७१ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । त्यस्तै जलविद्युत्कम्पनी ९१,उत्पादन तथा प्रशोधन उद्योग २१, होटल ७, लगानी कम्पनी ७, व्यापारिक संस्था ४ र अन्य समूहका ७ वटा कम्पनी नेप्सेमा सूचिकृत भएका छन् ।
यस्तै सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५७.७ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १४.९ प्रतिशत, लगानी कम्पनीको ७.४, उत्पादन तथा प्रशोधन उद्योगको ६.३, होटेलको २.९, व्यापारिक संस्थाको ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा १०.२ प्रतिशत रहेको छ ।
फागुनसम्मा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत ८ अर्ब २२ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब १४ अर्ब ६५ करोड रहेको छ ।
आठ महिनामा ६८ अर्ब ८५ करोड बराबरको साधारण शेयर, १७ अर्ब ७९ करोड बराबरको हकप्रद शेयर, १६ अर्ब ७ करोड बराबरको बोनस शेयर र ३ करोड बराबरको एफपीओ गरी कुल १० खर्ब २ अर्ब ७४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
चालू आवको फागुनसम्मा नेपाल धितोपत्र बोर्डले ९ अर्ब ८० करोड रुपैयाँ बराबरको साधारण शेयर, ६ अर्ब २ करोड बराबरको डिबेन्चर, ५ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र ३ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल २४ अर्ब ७८ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।