काठमाडौं, २५ चैत । अर्थमन्त्री वर्षमान पुनले वीरगञ्जलाई आर्थिक नगरी घोषणा गर्नुपर्ने व्यवसायीको मागमा सरकार सकारात्मक रहेको बताएका छन् । आइतबार वीरगञ्ज उद्योग बाणिज्य संघको विर्तास्थित कार्यालयमा राजश्व परामर्श तथा बजेट तयारीसम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री पुनले मधेस प्रदेश सरकारसँगको समन्वयमा वीरगञ्जलाई आर्थिक नगरी घोषणा गर्न संघीय सरकार सकारात्मक रहेको बताए ।
यस्तै पुनले देश विकासका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा प्रधानमन्त्री र आफू स्पष्ट रहेको उल्लेख गर्दै निजी क्षेत्रको मनोबल उकास्न सरकार प्रतिबद्ध रहेको बताए । निजी क्षेत्रका जायज गुनासोको सम्बोधन बजेटमार्फत गरिने उनको भनाइ थियो ।
मुलुकको आर्थिक अवस्था सुधारोन्मुख रहे पनि युद्ध र महामारीजस्ता कारणले विश्वव्यापी सप्लाई चेन्ज प्रभावित भएकाले त्यसको नकारात्मक असर बजारमा परेको उल्लेख गरे । यस्तै उनले उदयीमान अर्थतन्त्र भएका भारत र चीनको आर्थिक वृद्धिदर राम्रो रहेकोले क्षेत्रीय अर्थतन्त्रको फाइदा नेपालले लिन सक्नुपर्नेमा जोड दिए ।
चालु वर्षमा लक्ष्य निर्धारण गरिएको राजश्व नउठेको उल्लेख गर्दै मन्त्री पुनले संकट देखिँदा राज्यले जोखिम लिएर खर्च बढाउनुपर्नेमा जोड दिए । निजी क्षेत्रलाई प्रवद्र्धन र प्रोत्साहन गरी प्रतिस्पर्धाको बजार बनाइदिन सरकार प्रतिबद्ध रहेकाले सहयोग गर्न उनले निजी क्षेत्रलाई आग्रह गरे ।