काठमाडौं, २५ चैत । सिरहामा हतियार देखाएर मनी ट्रान्सफरको साढे १५ लाख लुटिएको छ । आइतबार बिहान सिरहाको विष्णुपुरमा सञ्चालित शिव मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको उक्त रकम भारतीय मोटरसाइकलमा आएका हतियारधारी समूहले लुटेका हुन् ।
सिरहाका प्रहरी प्रवक्ता डीएसपी मुक्तिनाथ सापकोटाका अनुसार यादवले सिराहाको ग्लोबल बैंकबाट १५ लाख ५० हजार रुपैयाँ निकालेर लगेका थिए । उक्त रकम सिराहको सदरमुकाममा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका हतियारधारी समूहले पेस्तोल देखाउँदै लुटेको सापकोटाले बताए ।
उक्त समूह भारततर्फ भागेको हुन सक्ने प्रहरीको आशंका छ । उनीहरूको खोजीकार्य तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।